नेपाली कांग्रेस बाजुराको ८ औँ जिल्ला अधिवेशनको तयारी पूरा, शीर्ष नेताहरू मार्तडीमा केन्द्रित

बाजुरा,१४ असोज: नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत बाजुराको ८औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ। जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका शीर्ष नेतादेखि स्थानीय नेता तथा कार्यकर्ताहरू सदरमुकाम मार्तडीमा केन्द्रित भएका छन्।

जिल्ला अधिवेशनको भोलि भव्य समारोहका बीच समुद्घाटन गरिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाजुराले जनाएको छ। अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशी, केन्द्रीय सदस्य विद्या तिमिल्सेना, पूर्वपार्टी सभापति कविराज पण्डित, पूर्वसांसद महानेपाली, पार्टी उपसभापति नारायण पाध्यायलगायतका नेताहरू सदरमुकाम मार्तडी पुगिसकेका छन्।
अधिवेशनको उद्घाटन समारोह मार्तडीस्थित खुलामञ्चमा आयोजना गरिने जिल्ला अधिवेशन संयोजक धनराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको छ। अधिवेशनमा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।

जिल्ला अधिवेशन संयोजक धनराज पण्डितले अधिवेशनलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरू एकजुट भएर तयारीमा जुटेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बाजुराको ८औँ जिल्ला अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी गरिएको छ। अधिवेशनको समुद्घाटन खुलामञ्चमा हुनेछ। जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छौँ।”
नेपाली कांग्रेस बाजुराका अनुसार जिल्ला अधिवेशनमा करिब १६ सय जना प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ। अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक गतिविधिका विषयलाई अगाडी बढाउने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button