बाजुरामा प्रथम पेनाल्टी सुटआउट प्रतियोगिता हुँदै, विजेताले १५ हजार रुपैयाँ पाउने

बाजुरा,१४ असोज: खेलकुद क्षेत्रको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलप्रेमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हिमालयन मस्क स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रतियोगिता यस महिनाको १८ गते सञ्चालन हुनेछ। प्रतियोगितामा प्रत्येक टिमबाट पाँच जना खेलाडी सहभागी हुन पाउनेछन्। प्रतियोगितामा सहभागी भएर खेलाडीहरूले आफ्नो खेल कौशल, क्षमता र प्रतिभा प्रदर्शन गर्न सक्नेछन्।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँ र द्वितीय हुने टिमले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलरक्षकलाई नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले प्रतिटिम २ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा फुटबल खेलको प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। अस्ति भर्खरै बडिमालिका कप फुटबल प्रतियोगिता समेतको आयोजना गरिएको थियो।




