कांग्रेसको आन्तरिक विवाद मिलाएर एकताबद्ध हुनुपर्नेमा नेताहरूको जोड, लोकतन्त्र र संविधान माथि चुनौती थपिएको धारणा

बाजुरा,२५ असोज:नेपाली कांग्रेस बाजुराको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिहरूको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन्।

जिल्ला अधिवेशन आयोजक समितिका संयोजक धनराज पण्डितको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द्र शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी, नेपाली कांग्रेस बाजुराका पूर्व पार्टी सभापति कविराज पण्डित तथा संविधानसभा सदस्य एवं पूर्व सांसद महा नेपाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले कांग्रेसभित्र देखिएको मतभेद र विवादलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले पार्टीभित्रको आन्तरिक विवादले संगठन कमजोर हुने भन्दै सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले मुलुकको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागि जिम्मेवार राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो। लोकतन्त्र र संविधानमाथि चुनौती थपिँदै गएको अवस्थामा कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी नेपाली कांग्रेस बाजुराका पूर्व पार्टी सभापति कविराज पण्डितले पार्टीभित्रको विवाद र गुटगत मनमुटावलाई अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो। उहाँले पार्टीभित्र विचार र नेतृत्वका विषयमा मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार बनाउन नहुने धारणा राख्नुभयो। कांग्रेसको संगठन बलियो भए मात्रै लोकतान्त्रिक आन्दोलन र संविधानको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिने उहाँको भनाइ थियो।
संविधानसभा सदस्य तथा पूर्व सांसद महा नेपालीले पनि मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले राजनीतिक दलहरूबीच आपसी विश्वास, सहकार्य र एकताको वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै कांग्रेसभित्रको विवादलाई समयमै समाधान गरेर जनताको भरोसा कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले बाजुराका पार्टी सचिव काशी विकले नेपाली कांग्रेस देशको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी भएकाले आन्तरिक विवादका कारण कमजोर हुन नहुने बताउनुभयो। उहाँले कांग्रेस फुट्नुभन्दा जुट्नुपर्ने भन्दै पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई आपसी समझदारीबाट समाधान गर्नुपर्ने धारणा राख्नुभयो। देशको वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धासँगै सहकार्य पनि आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यस्तै, नेकपा एकीकृत समाजवादी बाजुराका अध्यक्ष पुरबहादुर रावतले पनि नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताउनुभयो। उहाँले कांग्रेसभित्रको विवादले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने भन्दै पार्टीलाई विभाजनतर्फ नभई एकताको बाटोतर्फ लैजानुपर्ने धारणा राख्नुभयो। मुलुकमा देखिएका राजनीतिक, सामाजिक तथा संवैधानिक चुनौतीको सामना गर्न सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराका सभापति नवराज जोशी, नेकपा एमाले बाजुराका सचिव काशी विक, नेकपा एकीकृत समाजवादी बाजुराका अध्यक्ष पुरबहादुर रावत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, विभिन्न तहका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। विभिन्न राजनीतिक दलका नेताहरूले कांग्रेसको आन्तरिक एकताका पक्षमा अभिव्यक्ति दिँदै लोकतन्त्र र संविधानको रक्षाका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको सन्देश दिएका छन्। अधिवेशनको उद्घाटन समारोहमा व्यक्त विचारले जिल्लाको राजनीतिक वृत्तमा समेत चासो सिर्जना गरेको छ। नेपाली कांग्रेस बाजुराको आठौँ जिल्ला अधिवेशनलाई पार्टीको नयाँ नेतृत्व चयन गर्ने, संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




