कांग्रेसलाई कमजोर बनाउनु भनेको लोकतन्त्र र जनताको अधिकार कमजोर बनाउनु हो : गोविन्द बहादुर शाह

बाजुरा,१५ असोज: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासले देशको लोकतन्त्र, संविधान र जनताले प्राप्त गरेका अधिकारसमेत कमजोर हुने बताएका छन्।

नेपाली कांग्रेस बाजुराको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता शाहले कांग्रेसको झण्डा र चुनाव चिह्न रुख बोकेर जनतामाझ संघर्ष गरेका नेता तथा कार्यकर्ताको योगदानलाई बिर्सन नहुने बताए। उनले अछाम, डोटी र बाजुरालगायतका जिल्लामा कांग्रेसलाई बलियो बनाउन कार्यकर्ताले गरेको संघर्ष र योगदानको स्मरण गर्दै पार्टीभित्र एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको धारणा राखे।

उनले नेपाली कांग्रेस कमजोर भए देशले नै ठूलो क्षति बेहोर्नुपर्ने उल्लेख गर्दै कांग्रेसलाई कमजोर बनाउने प्रयासले लोकतन्त्र, समावेशी संविधान र नागरिकका मौलिक अधिकारमाथि असर पर्ने बताए। विशेषगरी दलित, महिला, जनजाति, आदिवासी, मधेसीलगायत समुदायका अधिकार सुनिश्चित गरेको संविधानको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो।

नेता शाहले पार्टीको आगामी महाधिवेशनलाई शक्ति प्रदर्शन र संगठनात्मक एकताको अवसरका रूपमा प्रस्तुत गर्दै काठमाडौंमा लाखौँ नेता तथा कार्यकर्ताको सहभागितामा भव्य महाधिवेशन सम्पन्न गर्ने दाबी गरे। उनले नेपाली कांग्रेस देशकै ठूलो र ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्ने बताए।

कार्यक्रममा उनले विभिन्न राजनीतिक दलका नेता, आन्दोलनकर्मी, सञ्चारकर्मी तथा पत्रकारहरूले जिल्ला अधिवेशन सफल बनाउन पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे। अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्न कांग्रेस तयार रहेको बताए।

यसैगरी, नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता तथा विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै शाहले उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरे। उनले पार्टीको नेतृत्व र महाधिवेशनसम्बन्धी विवादलाई कानुनी प्रक्रियाबाट टुंग्याउनुपर्ने धारणा राखे।

उनले शेरबहादुर देउवाको नेतृत्व र पार्टीको नियमित महाधिवेशनको प्रक्रियाबारे आफ्नो धारणा राख्दै विशेष महाधिवेशनका नाममा पार्टीको संस्थागत प्रक्रिया र नेतृत्वलाई अपहरण गर्न नमिल्ने तर्क गरे।

नेता शाहले कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान र जनताका अधिकारका लागि खेलेको भूमिकालाई आत्मसात् गर्दै पार्टीलाई थप एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button