बाजुरामा दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट सुरु

बाजुरा: कर्णाली प्रदेशमा संचालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बाजुरामा शनिबारबाट जिल्ला स्तरीय खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्न जिल्लामा विभिन्न खेलका प्रतिस्पर्धा सुरु गरिएको जिल्ला खेलकुद समिति बाजुराले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन जिल्लाबाट १८ विधाका खेलमा ३३६ जना खेलाडीले फाराम भरेका छन् । तीमध्ये जिल्ला छनोट प्रतियोगिताबाट २२६ जना खेलाडी छनोट गरिने जिल्ला खेलकुद समिति बाजुराकी अध्यक्ष कोपिला सिंहले बार्जु खबरलाई जानकारी दिएकी छन् । सदरमुकाम मार्तडीमा सुरु भएको छनोट प्रतियोगितामा विभिन्न खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्न भएका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउने अध्यक्ष सिंहले बताएकी छन् ।

जिल्लामा १८ वटै खेलका प्रशिक्षक रहेको जानकारी दिँदै राष्ट्रिय प्रतियोगितामा बाजुराबाट ३४ जना प्रशिक्षकसमेत सहभागी हुने बताउनुभयो । जिल्लामा खेलाडी छनोटका लागि आवश्यक तयारी पूरा गरी प्रतियोगिता सञ्चालन गरिएको उनको भनाई रहेको छ । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताले जिल्लाका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ । यसले जिल्लामा खेलकुदको विकास र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।



