जिल्ला अस्पताल बाजुराका करार कर्मचारीको माग : समान कामको समान सुविधा हुनुपर्छ,

बाजुरा : जिल्ला अस्पताल बाजुरामा कार्यरत करार तथा कार्यक्रमअन्तर्गतका कर्मचारीहरूले समान कामको समान तलब, महँगी भत्ता र सेवा–सुविधाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरामार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। अस्पतालमा कार्यरत करार, कार्यसम्पादन करार लगायत विभिन्न प्रावधानमा नियुक्त कर्मचारीहरूले स्थायी तथा दरबन्दीका कर्मचारीसरह काम गर्नुपर्ने अवस्था रहे पनि सेवा–सुविधामा विभेद भइरहेको भन्दै उनीहरूले यस्तो माग अघि सारेका हुन्।

कार्यालय प्रमुख लाइ बुझाएकाे ज्ञापनपत्रमा अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन स्थायी कर्मचारीसरह करारका कर्मचारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख छ। तर, वर्तमान व्यवस्थामा स्थायी तथा दरबन्दीका कर्मचारीले पाउने सेवा–सुविधाबाट करारका कर्मचारी वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ।

विशेषगरी स्थायी कर्मचारीले पाउँदै आएको अतिरिक्त सुविधा, महँगी भत्ता, वार्षिक पोसाक भत्ता तथा अन्य सुविधामा असमानता रहेको भन्दै कर्मचारीहरूले विद्यमान व्यवस्थामा सुधार गर्न माग गरेका छन्। एउटै अस्पतालमा समान प्रकृतिको काम गर्ने कर्मचारीबीच सेवा–सुविधामा फरक हुँदा कार्यसम्पादन र मनोबलमा समेत असर परेको उनीहरूको भनाइ छ।

कर्मचारीहरूले ज्ञापनपत्रमार्फत तीनवटा प्रमुख माग अघि सारेका छन्। पहिलो, करार तथा कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारीको तलबमान नेपाल सरकारको प्रचलित न्यूनतम तलबको मापदण्डअनुसार कायम गर्नुपर्ने। दोस्रो, महँगी भत्ता तथा अन्य सुविधा स्थायी र दरबन्दीका कर्मचारीसरह उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुपर्ने। तेस्रो, स्वास्थ्य सेवामा कार्यरत करार कर्मचारीले पाउने वार्षिक पोसाक भत्ता र एक महिनाको तलब बराबरको चाडपर्व खर्च बजेटमार्फत सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

उनीहरूले श्रमको उचित मूल्याङ्कन र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न प्रदेश सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्। कर्मचारीका आधारभूत माग सम्बोधन नगरी काममा निरन्तरता दिन कठिन हुने अवस्था सिर्जना हुन सक्ने भन्दै उनीहरूले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ज्ञापनपत्रमा आफ्ना मागलाई सकारात्मक रूपमा लिएर यथाशीघ्र सम्बोधन गर्न प्रदेश सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button