बाजुरा अस्पतालमै हड्डीको शल्यक्रिया, ५० हजारभन्दा बढी खर्च लाग्नेमा ९ हजारमै उपचार

बाजुरा,१३ असोज : भौगोलिक विकटता, कमजोर आर्थिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका कारण सामान्यदेखि जटिल उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता भोग्दै आएका बाजुराका नागरिकलाई जिल्ला अस्पताल बाजुराले राहत दिन थालेको छ। विशेषगरी हड्डी तथा जोर्नीसम्बन्धी समस्याको शल्यक्रिया जिल्लामै हुन थालेपछि बिरामीले ठूलो आर्थिक भारबाट मुक्ति पाउन थालेका छन्।
अर्थोपेडिक (हड्डी तथा जोर्नी) सम्बन्धी शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्दा ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने अवस्था रहेकोमा जिल्ला अस्पताल बाजुरामै शल्यक्रिया गर्दा करिब ९ हजार रुपैयाँमै उपचार सम्भव हुने गरेको अस्पतालका प्रमुख डाक्टर हरिश मल्लले बताएका छन्।
डाक्टर मल्लका अनुसार अस्पतालमा गरिने विभिन्न प्रकारका शल्यक्रियामा बिरामीले करिब ३ हजारदेखि १२ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। जिल्लामै शल्यक्रिया सेवा उपलब्ध भएपछि उपचार खर्च मात्रै नभई यातायात, बसोबास र खानपानमा लाग्ने अतिरिक्त खर्चसमेत बचत हुने गरेको छ।
अस्पतालका प्रमुख डाक्टर मल्लले जिल्लामै शल्यक्रिया सेवा सञ्चालन हुनु दुर्गम क्षेत्रका नागरिकका लागि सहज भएको बताए। उनका अनुसार जिल्ला अस्पतालमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। बिरामीको चाप बढ्दै गए पनि उपलब्ध स्रोतसाधन र जनशक्तिको प्रयोग गर्दै अस्पतालले सेवा प्रवाह गरिरहेको छ।
यसैबीच जिल्ला अस्पताल बाजुरामा २०८३ साल कार्तिक १० गतेदेखि १२ गतेसम्म तीन दिनको अवधिमा विभिन्न स्वास्थ्य समस्याबाट पीडित आठ जना बिरामीको शल्यक्रिया गरिएको छ। अस्पतालको अपरेशन थिएटर (ओटी) मा गरिएको शल्यक्रियामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका बिरामी सहभागी रहेका छन्।
अस्पतालको विवरणअनुसार कार्तिक १० गते ६५ वर्षीय पुरुषको बायाँ काँधको हड्डी भाँचिएर जोर्नी खुस्किएको समस्याको उपचार गरिएको थियो। सोही दिन १४ वर्षीय बालकको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डी निको भएपछि पहिले राखिएको इम्प्लान्ट निकालिएको थियो।
त्यस्तै, कार्तिक ११ गते ४ वर्षीय बालकको दायाँ पाखुराको कुहिनो नजिक भाँचिएको हड्डीलाई शल्यक्रियामार्फत मिलाएर के-वायर राखिएको थियो। १३ वर्षीय बालकको बायाँ पाखुरा र नाडीबीचका दुवै हड्डी भाँचिएको अवस्थामा रेडियस हड्डीमा प्लेट र अल्ना हड्डीमा के-वायर राखेर शल्यक्रिया गरिएको थियो। २९ वर्षीय पुरुषको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डीमा प्लेट राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
कार्तिक १२ गते ४ वर्षीया बालिकाको दायाँ कुहिनोमाथिको हड्डी भाँचिएको समस्यामा शल्यक्रियामार्फत हड्डी मिलाएर के-वायर राखिएको थियो। त्यस्तै, ६ वर्षीया बालिकाको बायाँ कुहिनोमाथिको गम्भीर प्रकृतिको टाइप–३ फ्र्याक्चरको उपचार पिन राखेर हड्डी मिलाउने प्रविधिबाट गरिएको थियो।
सोही दिन ४० वर्षीय पुरुषको दायाँ तिघ्राको माथिल्लो भागमा देखिएको गाँठो शल्यक्रियामार्फत निकालिएको छ। उक्त गाँठोको प्रकृति पहिचान गर्न परीक्षणका लागि नमुना पठाइएको अस्पतालको विवरणमा उल्लेख छ।
तीन दिनमा गरिएको आठवटा शल्यक्रियामध्ये अधिकांश हड्डी भाँचिएका बिरामीसँग सम्बन्धित छन्। विशेषगरी साना बालबालिकामा कुहिनो तथा पाखुराका हड्डी भाँचिने समस्याको उपचार जिल्लामै हुनुले स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको देखाउँछ।
यसअघि यस्ता समस्याको उपचारका लागि बिरामीले नेपालगञ्ज, धनगढी वा अन्य ठूला अस्पतालसम्म पुग्नुपर्ने अवस्था थियो। उपचारका लागि जिल्ला बाहिर जाँदा शल्यक्रिया खर्चसँगै यातायात, होटल, खाना र कुरुवाको खर्चसमेत थपिने भएकाले विपन्न परिवारलाई उपचार गराउन निकै कठिन हुने गरेको थियो। अहिले जिल्ला अस्पतालमै शल्यक्रिया सेवा उपलब्ध हुँदा बिरामी र आफन्तले समय तथा आर्थिक दुवै हिसाबले राहत पाउने बिश्वास लिएका छन् ।



