नेपाली कांग्रेस बाजुरा प्रदेश ‘क’ को अधिवेशन सम्पन्न, सभापतिमा नृपबहादुर खत्री निर्वाचित

बाजुरा: नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत बाजुरा जिल्लाको प्रदेश सभा क्षेत्र नं. ‘क’ को अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्या तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नृपबहादुर खत्रीको नेतृत्वमा प्रदेश ‘क’ को नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनमा महाधिवेशन तयारी समितिका जिल्ला संयोजक धनराज पण्डित, नेपाली कांग्रेस बाजुराका जिल्ला उपसभापति नारायण पाध्याय, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्रालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। साथै, नियमित महाधिवेशनको प्रक्रियालाई अगाडि बढाउने क्रममा अधिवेशनले पार्टीभित्रको संगठनात्मक गतिविधि र नेतृत्व चयनलाई महत्त्वपूर्ण रूपमा अघि बढाएको छ।
नृपबहादुर खत्रीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।




