बडीमालिका नगरपालिकामा भाेली शोक बिदा

बाजुरा: जिल्लाकाे बडीमालिका नगरपालिकाले नगरपालिकाको पशुसेवा शाखामा कार्यरत अधिकृत सातौँ तहका कर्मचारी गोपाल चन्द्र भण्डारीको निधनमा बुधबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले आज एक सूचना जारी गर्दै भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिने जनाएको हो।
नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयअनुसार स्वर्गीय भण्डारीको निधनको शोकमा ११ गते बुधबार अर्थात भाेली नगर कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन्।
नगरपालिकाद्वारा जारी सूचनामा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामार्फत सम्बन्धित सबै कार्यालय तथा संस्थालाई शोक बिदासम्बन्धी निर्णयबारे जानकारी गराइएको छ।




