स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजित प्रथम हिजन स्मृति भलिबल प्रतियोगिता सम्पन्न

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजित प्रथम हिजन स्मृति वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक ६ गतेदेखि राघुमाता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता कार्तिक ७ गते सम्पन्न भएको हो।
हिजन स्मृति युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा विभिन्न स्थानका १४ वटा भलिबल टोलीले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटस्थित शुवास स्मृति युवा क्लबले प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएको छ।
त्यसैगरी प्रतियोगिताको आयोजक हिजन स्मृति युवा क्लबले द्वितीय स्थान हासिल गरेको छ भने कालिकोटको पलाता गाउँपालिका–१ स्थित पुलाहा प्रगतिशील युवा क्लबले तृतीय स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः ७ हजार, ४ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै हिजन स्मृति युवा क्लबका सचिव खमबहादुर बुढाले प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था र सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभएको छ। स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउन योगदान पुर्याएको छ। साथै, यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्दै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।
स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्वर्गीय हिजन भण्डारीको सम्झनालाई जीवन्त राख्दै खेलकुदमार्फत सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।



