बडीमालिकामा सडक विस्तार भन्दा दिगो पर्यटनमा जोड दिन एमाले बाजुरा अध्यक्ष : ओलीको आग्रह

बाजुरा,२८ असोज : नेकपा एमाले बाजुराका अध्यक्ष लाल ओलीले बडीमालिकाको विकासका नाममा जथाभावी सडक विस्तार गर्नुभन्दा दीर्घकालीन योजना, वातावरण संरक्षण र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले बडीमालिकासम्म गाडी पुर्‍याउँदैमा पर्यटन प्रवर्द्धन नहुने उल्लेख गर्दै सडक निर्माणका योजनाले धार्मिक तथा प्राकृतिक सम्पदामा पार्ने प्रभावबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन्। उनले बडीमालिकाको विकासका लागि स्पष्ट योजना र दीर्घकालीन सोचको अभाव रहेको औँल्याउँदै सडक कहाँसम्म पुर्‍याउने र कुन मोडलबाट पर्यटन प्रवर्द्धन गर्ने भन्ने विषयमा सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको बताए। “हरेक गाउँगाउँबाट बडीमालिकामा गाडी पुर्‍याउँदैमा बडीमालिकाको महत्त्व बढ्छ भन्ने सोच्नु हुँदैन। यसरी सडक विस्तार गर्दा राज्यको स्रोतसाधनको दुरुपयोग हुने र बडीमालिकाको प्राकृतिक स्वरूपमा समेत असर पर्न सक्छ,” ओलीको भनाइ थियो। उनले बडीमालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हो भने पर्यटकलाई पैदलयात्रा, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिसँग जोड्नुपर्ने धारणा राखे।

पर्यटक छोटो समयमै पुगेर फर्किने अवस्थाभन्दा तीनदेखि चार दिनसम्मको व्यवस्थित पदयात्रा र पर्यटन गतिविधि विकास गर्न सके स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना हुने उनको तर्क थियो। अध्यक्ष ओलीले बडीमालिकामा केबलकार निर्माणको विषय उठिरहेको सन्दर्भमा त्यसको आवश्यकता, औचित्य र सम्भाव्यताबारे प्रश्नसमेत उठाए। कुनै पनि विकास आयोजना अघि बढाउनुअघि त्यसको विस्तृत अध्ययन, वातावरणीय प्रभाव र दीर्घकालीन लाभबारे स्पष्ट हुनुपर्ने उनले बताए। उनका अनुसार सडक, केबलकार वा अन्य पूर्वाधारमध्ये कुन विकास मोडल उपयुक्त हुन्छ भन्ने निर्णय व्यक्तिगत चाहना वा राजनीतिक स्वार्थका आधारमा नभई जिल्लाको समग्र आवश्यकतालाई ध्यानमा राखेर गर्नुपर्छ। “जति व्यक्ति छन्, उति विकासका मोडल र जति राजनीतिक दल छन्, उति फरक सोच देखिन्छन्। तर बाजुरालाई समग्र रूपमा कसरी विकास गर्ने भन्ने विषयमा साझा योजना आवश्यक छ,” ओलीले भने। उनले जिल्लाका स्थानीय तहका प्रमुखहरू तथा सरोकारवाला निकायबीच समन्वय गरी कम्तीमा दस वर्षको दीर्घकालीन विकास योजना निर्माण गर्नुपर्नेमा जोड दिए। गणतन्त्र स्थापनापछि पनि जिल्लाको समग्र विकासको साझा खाका तयार हुन नसकेको उनको भनाइ थियो।

बडीमालिकामा सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरणीय संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ओलीले फोहोर व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र प्राकृतिक सम्पदाको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताए। बडीमालिकालाई केवल सडकको पहुँच विस्तार भएको क्षेत्रका रूपमा नभई धार्मिक आस्था, प्राकृतिक सम्पदा, पदयात्रा र स्थानीय रोजगारीसँग जोडिएको दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो। बडीमालिकाको भविष्यबारे बहस गर्दै अध्यक्ष ओलीले विकासका पूर्वाधार निर्माणसँगै वातावरण संरक्षण, स्थानीय समुदायको आर्थिक हित र जिल्लाको दीर्घकालीन योजनालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button