साइबर ठगी र आर्थिक लेनदेनमा उजुरी बढ्दै,प्रहरीको सक्रियता बढ्यो

बाजुरा– जिल्लामा पछिल्लो एक महिनाको अवधीमा साईवर ठगी र आर्थिक लेनदेनका उजुरी बढ्न थालेका छन् । प्रहरीको तथ्यांक अनुसार साइबर ठगी, सामाजिक सञ्जालको दुरुपयोग, चरित्र हत्या तथा आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढ्दै गएपछि प्रहरीले तत्काल सुनुवाइ र कारबाहीको संयन्त्रलाई सक्रिय बनाएको छ । पछिल्लो समय फेसबुकलगायत सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग जोडिएर ठगीमा पर्ने, अनलाइन सपिङका नाममा रकम असुल्ने तथा अनुमति नलिई अरूका तस्बिर सार्वजनिक गरी आत्मसम्मानमा चोट पुर्याउने गतिविधि बढेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शैलेश्वरी बोहराले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो एक महिनाको प्रहरी गतिविधि, शान्ति सुरक्षाको अवस्था तथा प्राप्त उजुरीबारे जानकारी दिँदै साइबर अपराधप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेकी छन् । उनका अनुसार कार्तिक महिनाभरि विभिन्न प्रकृतिका ४३ वटा ठाडो उजुरी प्राप्त भएका छन्। साइबर ठगी, आर्थिक लेनदेन, सामाजिक सञ्जालमा अभद्र व्यवहार, चरित्र हत्या, मिथ्या सूचना सम्प्रेषण तथा व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने गतिविधिसम्बन्धी उजुरी प्रहरीसमक्ष आउने गरेका छन् ।

विशेषगरी अनलाइन सपिङका नाममा ठगी गरिएका ६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्। फेसबुकमा अपरिचित व्यक्तिलाई साथी बनाउने, विश्वासमा पारेर रकम माग्ने तथा विभिन्न प्रलोभन देखाएर आर्थिक ठगी गर्ने प्रवृत्ति देखिएकाले अपरिचित व्यक्तिसँग आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। आफ्नै चिनजानका व्यक्ति तथा आफन्तबाट समेत ठगीमा परेको सूचना आउने गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी सामाजिक सञ्जालमा कसैको अनुमति नलिई तस्बिर सार्वजनिक गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक सामग्री फैलाउने, असभ्य तथा अपमानजनक भाषा प्रयोग गर्ने र व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने गरी टिप्पणी गर्नेहरूमाथि पनि उजुरी आउने गरेको छ। अनावश्यक आरोप लगाउने र मिथ्या सूचना फैलाउने प्रवृत्ति सामाजिक सञ्जालको गम्भीर चुनौतीका रूपमा देखिएको प्रहरीले जनाएको छ । यस्ता गतिविधिबाट पीडित भएकाहरूलाई साइबर ब्यूरोमा सम्पर्क गरी उजुरी दिन तथा प्रहरीको हटलाइन नम्बर १२४७ मा जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रहरीले सवारीसाधनको दुरुपयोग नियन्त्रण, अवैध रूपमा नदीजन्य पदार्थको ओसारपसार रोकथाम तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि निगरानी र सक्रियता बढाएको जनाएको छ । सवारीसाधन प्रयोगसम्बन्धी विषयमा आवश्यक पत्राचार गरिएको र नियमविपरीत गतिविधिमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइएको जानकारीसमेत दिइएको छ ।

प्रहरी उपरीक्षक बोहराले नेतृत्व सम्हालेयता जिल्लामा प्रहरी गतिविधिलाई थप प्रभावकारी बनाउने, नियमित अनुगमन तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिने काम भइरहेको बताएकी छन् । मदिरा सेवन गरी सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा हिँडडुल गर्ने प्रवृत्तिमा समेत कमी आएको र समग्र शान्ति सुरक्षाको अवस्थामा सुधार देखिएको प्रहरीको दाबी छ ।

पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक गगनसिंह भाटलगायतको सहभागिता रहेको थियो । प्रहरीले आगामी दिनमा पनि नियमित पत्रकार सम्मेलनमार्फत प्रहरी गतिविधि, अपराध नियन्त्रण र शान्ति सुरक्षासम्बन्धी विवरण सार्वजनिक गर्ने जनाएको छ । बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहराले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्ने, अपरिचित व्यक्तिको प्रलोभनमा नपर्ने, फेसबुकका साथी बन्न आएका रिक्वाइष्ट स्वीकार नगर्ने र ठगी, धम्की, चरित्र हत्या तथा अभद्र व्यवहारको सिकार भएमा मौन नबसी तत्काल प्रहरीमा उजुरी गर्न आग्रह गरेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button