बाजुराका प्र.जि.अ रिजालको पहिलो दिनमै नागरिकमैत्री सेवाको थालनी

बाजुरा : बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले जिल्लामा जिम्मेवारी सम्हालेसँगै नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित महत्वपूर्ण कामको थालनी गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराले नागरिकलाई सेवा लिन अनावश्यक समय र खर्च व्यहोर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न इमेलमार्फत कागजात उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाजुराले मिति २०८३ असोज २७ गते जारी गरेको सूचनाअनुसार स्थानीय तहका वडा कार्यालयबाट प्राप्त सिफारिससहितका आवश्यक कागजातका आधारमा नागरिकताको छायाप्रति तथा वडा कार्यालयको सिफारिससम्बन्धी कागजात इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।
सूचनामा विशेषगरी दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिक, दलित, जनजाति तथा खस आर्य समुदायका सेवाग्राहीलाई लक्षित गर्दै सेवा प्रवाहलाई सहज बनाउने उल्लेख छ। यसअघि आवश्यक कागजातका लागि जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने अवस्थाले सेवाग्राहीको समय र रकम दुवै खर्च हुने गरेको थियो।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिको निवेदन, नागरिकताको छायाप्रति तथा वडा कार्यालयको सिफारिससहितका आवश्यक कागजात सम्बन्धित वडा कार्यालय वा गाउँपालिका/नगरपालिकाको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयको इमेल ठेगाना bajuradao99@gmail.com मा पठाउन सकिनेछ। प्राप्त कागजात प्रमाणित भएपछि सम्बन्धित सेवाग्राहीलाई इमेलमार्फत पठाउने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।
दुर्गम भूगोलका कारण सामान्य प्रशासनिक सेवाका लागि समेत लामो दूरीको यात्रा गर्नुपर्ने बाजुराका नागरिकका लागि यो व्यवस्था राहतदायी बन्ने प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताएका छन् । उहाँका अनुसार विशेषगरी आर्थिक रूपमा कमजोर तथा टाढाका बस्तीमा बसोबास गर्ने नागरिकलाई समय र खर्च बचत गर्न यसले सहयोग पुग्ने छ।




