मार्तडीमा राँगा जुधाएर बडादसैँको स्वागत

बाजुरा : बडादसैँ भोलिदेखि सुरु हुँदैछ । दसैँको आगमनसँगै बाजुरामा चाडपर्वको चहलपहल बढेको छ । रोजगारीका लागि प्रदेशिएका तथा पढाइ र व्यापार व्यवसायका सिलसिलामा गाउँबाहिरका सहर बजारमा पुगेका नागरिकहरु पनि चाडपर्व नजिकिएसँगै घर फर्किन थालेका छन् । केही समयअघिसम्म सुनसान देखिने गाउँघरमा चाडपर्वको चहलपहल बढ्न थालेको छ ।
यस्तै, जिल्लाको सदरमुकाम मार्तडीमा शनिबार राँगा जुधाएर बडादसैँको स्वागत गरिएको छ । बडीमालिका नगरपालिका–८ स्थित बाउली बगरमा हरेक वर्षझैँ यस वर्ष पनि स्थानीयले परम्पराअनुसार राँगा जुधाएर दसैँको स्वागत गरेका हुन् ।

हिन्दु धर्मावलम्बीको महान् पर्व बडादसैँ घटस्थापनादेखि सुरु हुने परम्परा छ । घटस्थापनाका दिन घरघरमा जमरा राखेर देवी भगवतीको पूजाआराधना गरेपछि दसैँको औपचारिक सुरुवात गरिन्छ । तर, यहाँ भने घटस्थापनाभन्दा अघिल्लो दिन अर्थात् औँसीका दिन राँगा जुधाएर दसैँको रौनक भित्र्याउने परम्परा छ ।

स्थानीयले गाउँघरमा पालेका राँगालाई बाउली बगरमा ल्याएर जुधाउने गर्छन् । स्थानीय सन्तोष विकका अनुसार लेकबाट औँलतिर भैँसी झारेपछि गाउँघरमा पालिएका राँगालाई एकआपसमा जुधाउने गरिन्छ । यसबाट कुन राँगो बलियो छ र कसले राम्रोसँग पालनपोषण गरेको छ भन्ने थाहा हुने उनले बताए। राँगा जुधाउने परम्पराले दसैँको आगमनसँगै गाउँघरमा उत्साह र उमङ्ग थप्ने गरेको उनको भनाइ छ । उनका अनुसार राँगा जुधाउने दृश्य हेर्न स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

बडीमालिका नगरपालिका–७ का स्थानीय मनिराम खत्रीका अनुसार राँगा जुधाउने परम्परा देवी र दानवबीचको युद्धसँग जोडिएको परम्परागत धार्मिक मान्यतामा आधारित छ । उनका अनुसार सती युगमा देवी र दानवबीच भएको लडाइँको स्मरणमा दसैँ सुरु हुनुअघि राँगा जुधाउने चलन रहेको छ । “घटस्थापनाका दिन देवीले विजय हासिल गरेको मानिन्छ,” खत्रीले भने, “नवमीसम्म देवीको पूजाआराधना गरी दसैँको दशमीका दिन टीका लगाएर पर्व मनाउने गरिन्छ । घटस्थापनाको अघिल्लो दिन राक्षसी जनावर मानिने राँगा जुधाएपछि दसैँको रौनक सुरु हुन्छ ।”

यस्तै, सोही अवसरमा बडीमालिका नगरपालिकाले भैसी पालन व्यवसाय प्रवद्र्धनका लागि राँगो पालक कृषकहरुलाई सम्मान गरेको छ । नगरपालिका कर्मचारी रमेश विककाअनुसार पाँच जना कृषकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।

साभार : बडीमालिका खवरबाट…..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button